काठमाडौं- पछिल्लो हप्तादेखि हरेक दिन नयाँ रेकर्ड राखिरहेको नेप्सेले आज पनि निरन्तरता पाएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ अंकमा कायम भएको छ।
आज २०९ वटा कम्पनीको १ करोड ४६ लाख ९१ हजार कित्ता सेयर ७६ हजार पटक खरिद बिक्री हुँदा ७ अर्ब १४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ९५.४२ अंकले बढेको छ। त्यस्तै, बैंकिङ समूह ४२.३६, व्यापार समूह ६९.२९, जलविद्युत समूह ३१.६९, वित्त समूह ३.६४ र म्युचुअल फण्ड समूह ०.०६ अंकले बढेको छ।
सबैभन्दा धेरै घट्नेमा भने निर्जीवन बिमा समूहको उपसूचक ८८.९२ अंकले घटेको छ। त्यस्तै, उत्पादन समूह २१.५१, होटल तथा पर्यटन समूह ६५.२४, लघुवित्त समूह १४.४, जीवन बीमा समूह ५१.२८, लगानी समूह ०.४६ र अन्य समूह ७.५ अंकले घटेको छ।
आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै २८ करोड ६२ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै ६ लाख २५ हजार कित्ता सेयर किनबेच भएको छ।
आज एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता ४.२७ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।