काठमाडाैं- आईएनजी समूहअन्तर्गतको इनोभेट टेक कम्पनीले प्रयोगमा ल्याएको इन्टरनेट लर्निङ मोबाइल एप्लिकेसन 'माइ सेकेण्ड टिचर' पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी स्पोन्सरको रुपमा भित्रिएको छ।
नेपालले मार्च २०२२ सम्म खेल्ने टी-२० अन्तर्राष्ट्रिय र एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि माइ सेकेण्ड टिचरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको क्लोदिङ रेगुलेसनअनुसार नेपाल क्रिकेट संघसँग सोमबार सम्झौता गरेको हो।
सम्झौताअनुसार राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा उपलब्ध सबै स्थानहरुमा माइ सेकेण्ड टिचरले प्रमुख स्थान लिनेछ भने आईएनजी ग्रुप र इस्लिङ्गटन कलेजको पनि लोगो प्रयोग गरिनेछ।
नेपाली क्रिकेट टोलीको जर्सीको वित्तीय अधिकार प्रदान गरेको एड प्याडमार्फत माइ सेकेण्ड टिचर भित्रिएको हो। क्यानले एड प्याडसँग जनवरी २, २०२१ मा सम्झौता गरेको थियो।
'नेपालको शैक्षिक क्षेत्रमा क्रान्ति ल्याउनका लागि कार्यरत इनोभेट टेकसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं,' नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्तिमार्फत भनेका छन्, 'यो साझेदारी नेपालको ग्रामिण क्षेत्रसम्म शिक्षाको महत्त्वको विषयमा प्रवर्द्धन गर्न मद्दत पुर्याउनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।