काठमाडौं- ६९ विद्यार्थी सहभागी नेपाल इकोनोमिक ओलम्पियाडको उत्कृष्ट पाँच प्रतिस्पर्धी छानिएका छन्। उत्कृष्ट प्रतिस्पर्धीले आउँदो जुलाईमा लाट्भियामा आयोजना हुने अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
यसरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छानिएकाहरूमा रातो बंगला स्कुलका प्रत्युष घिमिरे, आर्यन श्रेष्ठ, सेन्ट जेभियर्सका प्रतिक कायस्थ र बूढानीलकण्ठ स्कुलका निराजन राना र समीर क्षेत्री रहेका छन्। यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले २०१९ मा एक कांस्य र २०२० मा दुई कांस्य जितेको थियो।
नेपाल इकोनोमिक ओलम्पियाड (एनइओ) नेसनल च्याम्पियन–२०२१ शुक्रबारदेखि शुरु भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतिस्पर्धा काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसिएम) ललितपुरमा आयोजना भएको हो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै नेपाली कांग्रेसका नेता तथा पूर्वसूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले विद्यार्थीहरूले यस्ता प्रतिस्पर्धालाई आफ्नो सीप अभिबृद्धि गर्न उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
प्रतिस्पर्धाका आयोजक संस्था नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटाका अनुसार देशका विभिन्न भेगका प्लस टू तथा ए लेबलमा अर्थशास्त्र, वाणिज्य तथा व्यापार अध्ययनरत विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।
उनले अघिल्ला प्रतिस्पर्धामा नेपालको तर्फबाट भएको अनुभव समेतको आधारमा यसपटक प्रतिस्पर्धीहरूले सुधार गर्ने विश्वास व्यक्त गरे। नेपाल लाइभको भगिनी अंग्रेजी प्रकाशन नेपाल लाइभ टुडे कार्यक्रमको मिडिया साझेदार रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।