काठमाडौं- सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको डेढ महिना पुग्न लाग्यो। गत फागुन २१ गते सरकार र विप्लव पक्षबीच तीन बुँदे सहमतिपछि ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण मुलधारको राजनीतिमा आएको थियो। सहमतिको तेस्रो बुँदामा विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने, कारागारमा रहेका नेकपाका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्ने विषय उल्लेख थियो।
तर, सरकारले विप्लव नेतृत्वको नेकपा नेता/कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता लिने प्रक्रिया अझै थालेको छैन। अझै पाँच केन्द्रीय सदस्यसहित एक सय २३ नेता/कार्यकर्ता जेलमै रहेको प्रहरीले जनाएको छ। तर, विप्लव पक्षले भने देशभर १ सय ४६ जना नेता/कार्यकर्ता जेलमै भएको दाबी गरेको छ। आफ्ना नेता/कार्यकर्ता रिहा गर्न विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर दुईपटक आग्रह गरिसकेका छन्। तर, सरकारले बन्दी रिहा र मुद्दा फिर्ता लिन आनकानी गर्न थालेपछि विप्लव नेतृत्वको नेकपाका नेता/कार्यकर्ता चिढिन थालेका छन्।
यता, सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विप्लव नेतृत्वको नेकपा नेता/कार्यकर्ता रिहा र मुद्दा फिर्ताका विषयमा अनभिज्ञता प्रकट गरे। ‘विप्लव नेतृत्वको नेकपाका नेता/कार्यकर्ता छोड्ने, मुद्दा फिर्ता लिने विषयमा केही थाहा छैन। त्यो सबै गृह मन्त्रालयलाई थाहा होला, उतै सोध्नुस्’, गुरुङले भने।
तर, विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले सहमतीपछि नेता/कार्यकर्ता छुट्न ढिला भएको स्वीकार गरे। ‘सरकार र नेकपाबीच सहमति भएपछि नेता/कार्यकर्ता छुट्न ढिलै भएको हो। अरु कानुनी प्रक्रिया मिलाउन पनि समय लागेको होला’, नेपाल लाइभसँग कुरा गर्दै चलाउनेले भने, ‘हामीलाई के विश्वास छ भने सहमति बमोजिम नेता/कार्यकर्ता सबै छु्ट्नुहुन्छ होला।’
सरकारले विप्लव नेतृत्वको नेकपाका नेता/कार्यकर्ता छोड्न ढिलालाई गर्न थालेपछि उनीहरूले आशंका गर्न थालेका छन्। ओलीले राजनीतिक रूपमा वार्तामार्फत् शान्तिपूर्ण राजनीतिमा ल्याएको जस लिएपनि सहमति कार्यान्वयन गर्न ढिला गरेको भन्दै आक्रोशित हुन थालेका छन्। तर, बाहिरी रूपमा भने विप्लव नेतृत्वको नेकपाका नेता/कार्यकर्ताले सरकारको विषयमा अझै आलोचना गरेका छैनन्। सरकारसँग वार्ता गर्नेक्रममा अलि हतार गरियो कि भन्ने नेता/कार्यकर्तालाई लाग्न थालेको छ। प्रतिबन्धको अवधिमा मृत्यु भएका नेता/कार्यकर्तालाई राहत दिने विषयमा सहमति नगरेको भन्दै शहिद परिवार समेत चिढिन थालेका छन्।
ओलीसहित एक सय २३ नेता/कार्यकर्ता जेलमै
विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीसहित पाँचजना केन्द्रीय सदस्य जेलमै छन्। नख्खु कारागारमा रहेका सचिवालय सदस्य ओली २०७५ चैत ९ गते काभ्रेबाट पक्राउ परेका थिए। उनलाई ललितपुरको नख्खुस्थित एनसेल टावर आक्रमण र विस्फोटमा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो। अदालतबाट सफाइ पाए पनि प्रहरीले उनलाई अर्को आरोपमा पक्राउ गरेको थियो। जेलमा रहेका विप्लव नेतृत्वको नेकपाका नेताहरूमध्ये ओली प्रमुख नेता हुन्।
विप्लवका दाजु नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द पनि जेलमै छन्। चन्दसहित २१ नेता/कार्यकर्ता २०७६ कात्तिक १ गते दाङको मंग्रेटोखोलाबाट पक्राउ परेका थिए। चितवन जेलमै रहेका चन्दलाई आइतबार रूपन्देही जिल्ला अदालतले बयानका लागि उपस्थित हुन सूचना जारी गरेको छ। विस्फोटक पदार्थ सम्बन्धी कसूर मुद्दामा चन्द फरार भएकाले २१ दिनभित्र उपस्थित भई बयान दिन सूचना जारी भएको हो। सरकारले छोड्न प्रक्रिया नथाल्दा उल्टै अदालतले बयानका लागि विप्लव नेताहरूलाई बोलाउन थालेको छ।
केन्द्रीय सदस्य माइला लामा २०७६ साउन ५ गते काठमाडौंको काँडाघारीबाट पक्राउ परेका थिए। उनलाई संखुवासभाको खाँदबारी कारागारमा राखिएको छ। अर्का केन्द्रीय सदस्य भरत बम २०७६ वैशाख २५ गते नेपालगञ्जबाट पक्राउ परेका थिए। यस्तै, अर्का केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ समेत जेलमै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।