फाइल तस्बिर
काठमाडाैं- नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले हालै विभिन्न व्यक्तिलाई बाँडिएको पदकमा चुच्चे नक्सा नराखिएबारे प्रधानमन्त्रीको जवाफ माग गरेकी छिन्। उनले सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राष्ट्रवादी सरकारले चुच्चे नक्सा किन राखेन त्यसको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर दिनुपर्ने माग गरेकी हुन्।
कांग्रेस सचेतकसमेत रहेकी भुसालले सरकारले राष्ट्रियता देखाउने अनि चुच्चे नक्सा हराउने कसरी भयो भनि प्रश्न उठाइन्। ‘विभूषणको रुपमा पदक वितरण गर्दै जाँदा यो संसद्बाट पास भएको नक्सा कहाँ गयो?,’ उनले भनिन्, ‘यही संसद्बाट पारित भएर कार्यान्वयन गर्न निर्देशन गरेको थियो? तर, सरकारले यसको पालना गरेन। सरकारले नक्सा संशोधनबाहेक भूमि फिर्ता ल्याउन पहल गरेन।’
नक्साले समेटिएको क्षेत्रको विकास गर्ने कुरा नभएको भन्दै उनले पाठ्यक्रममा ल्याउने कुरामा पनि सरकारले रोकेको आरोप लगाइन्। ‘राष्ट्रपतिबाट बाँडिएको विभूषणमा चुच्चे नक्सा हटाइएको छ। यसको जवाफदेही कसले लिने हो?,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले यो जिम्मेवारी लिने कि नलिने? यो गम्भीर भूलको जवाफ दिन प्रधानमन्त्रीलाई संसद्मा आउन आग्रह गर्दछु।’
एमसीसी पास गर्नुपर्छ भन्ने तर संसद्मा सरकारले टेबल नै नगरेको आरोप उनले लगाइन्। ‘सरकारले यसलाई तुरुन्त अगाडि बढाइयोस्। अनिमात्र प्रक्रियामा जान्छ,’ उनले भनिन्,‘जनता महँगीको मारमा छन्। भ्रष्टाचार बढेको छ। तेलको मूल्य बढेको छ। महँगी नियन्त्रण र सुशासन कायम गर्न सक्दैन भने किन सत्तामा बस्नु?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।