काठमाडौं– कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न गरेको आग्रहप्रति सरोकारवालाले आपत्ति जनाएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारेको छलफलमा सहभागीले विद्यालय बन्द गर्न नहुने धारणा राखेका हुन्।
अन्य क्षेत्रमा भएका बेथिति हटाउनुको साटो सरकारले शिक्षा क्षेत्रमा प्रहार गरेको आरोप उनीहरुको छ।
कार्यक्रममा सहभागी एनप्यब्सनका महासचिव सुबास न्यौपानेले शिक्षण सिकाइबाट बालबालिका बन्चित हुनुहुँदैन भन्दै हालकै अवस्थामा विद्यालय बन्द गर्नु नपर्ने बताए।
दैनिकजसो नेताहरु सडकमा उत्रिँदा कोरोना नसर्ने तर विद्यालयमा सर्ने भन्ने सरकारी तर्क हाँस्यास्पद रहेको उनको भनाइ छ। स्थानीय तहको समन्वयमा जोखिम हेरेर निर्णय गर्न सकिने भन्दै उनले सबै स्थानमा विद्यालय बन्द गर्दा शैक्षिक वातावरण नै बिग्रने बताए
सरकार हचुवाका भरमा विद्यालय बन्द गराउनतिर लागेको प्यबसनका सहअध्यक्ष डिके ढुंगानाको भनाइ छ। जोखिमको मूल्यांकन नगरी विद्यालय बन्द गराउनु भन्नु शिक्षा क्षेत्र तहनहस पार्नु रहेको उनको भनाइ छ।
विगतबाट सिकेर नयाँ निर्णय गर्नुपर्ने बताउँदै राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्नुपर्ने बताए । स्वास्थ मापदण्ड पालना गरेर बिद्यालयसञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
सबैलाई एउटै रुपमा नहेरी स्थान विशेष निर्णय गर्नुपर्ने अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीको भनाइ छ। विद्यालय बन्द गरेरमात्र समस्या समाधान नहुने भन्दै छलफलमा सहभागी सरोकारवालाले जोखिम हेरेर निर्णय गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।