काठमाडौं- सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थिति बिना नै नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेको छ।
आइतबार अपराह्न पार्टी कार्यालय सानेपामा बसेको बैठकले सोमबार बस्ने केन्द्रीय कार्य समितिको बैठकका अजेन्डा तय गरेको हो।
बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन समितिका कामबारे र रमेश लेखकले क्रियाशील सदस्यता वितरणका समस्याका विषयमा 'ब्रिफिङ' गरेका थिए।
कांग्रेसले कांग्रेससँग मिलेका विभिन्न दलका सांगठनिक संरचना समायोजनका लागि उपसभापति निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको थियो। त्यस्तै, क्रियाशील सदस्यता छानबिनका लागि लेखकको संयोजकत्वमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको थियो। सोही अनुसार उनीहरूले आफ्नो कामको ब्रिफिङ गरेका हुन्।
बैठकमा वर्तमान पदाधिकारीहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवको उपस्थिति थियो। त्यस्तै, पूर्वपदाधिकारीमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुनरसिंह केसी, एनपी साउद, डा मिनेन्द्र रिजाल सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।