काठमाडौं- धनगढीका विद्युतीय रिक्सा चालकहरूलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएको छ। विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरूले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएको हो।
नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमका बीच क्यूआर कोड हस्तान्तरण गरेका हुन्।
बैंकसँग कारोबार गर्न पाउनु आफूहरूका लागि निकै गर्वको कुरा भएको बताउँदै उनीहरूले मेगा बैंकलाई धन्यवाद दिए। कार्यक्रममा नेपाल राष्ट्र बैंक, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख निर्देशक सुशील ज्ञवाली, मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझा, बजार विभाग प्रमुख बरुण शाह, मेगा बैंक नेपाल लिमिटेड धनगढी शाखाका शाखा प्रबन्धक होमेन्द्र उपाध्यायको उपस्थिति थियो।
यो व्यवस्थासँगै अब धनगढीका रिक्सामा यात्रुहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत् भाडा रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन। नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैंकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको विस्तारलाई तीव्रता दिइरहेको छ।
क्यूआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले दाबी गरेको छ।
यसका साथै स्वरोजगारमुलक काम गरिरहेका न्यून आय भएका रिक्सा चालकहरूको रकम सिधै बैंक खातामा बचत हुने भएकाले रकम बोकेर हिँड्न पर्ने बाध्यता हट्ने बैंकले विश्वास लिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।