काठमाडौं- नेकपा (एमाले)का तर्फबाट कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गरेका तीन मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनीहरूको राजीनामा स्वीकृत गरेका हुन्। मुख्यमन्त्री शाहीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाको राजीनामा स्वीकृत गरेका हुन्।
उनीहरूको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री शाहीलाई रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई दिएका छन्।
यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई तोकिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। समर्थन फिर्तासँगै एमालेबाट मन्त्री बनेका ज्वाला, रावल र बुढाले राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।