तस्बिर : राष्ट्रपति कार्यालय।
काठमाडाैं- नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चार जना पूर्वमाओवादी नेताहरूले पुनः मन्त्रीको शपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार राष्ट्रपतिबाट मन्त्री नियुक्त भएका उनीहरूले शुक्रबार नै शपथ लिएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पद तथा गोपनियताको शपथ दिलाएकी हुन्। यी चार नेतालाई माओवादीले कारबाही गरेपछि सांसद पद खोसिएको थियो। सांसद् पदसँगै मन्त्री पद पनि गुमेको थियो। तर, सांसद नभएको व्यक्ति पनि ६ महिना मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उनीहरू मन्त्री भएका हुन्।
माओवादीको निर्णय बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पेश भएपछि उनीहरू मन्त्री पदबाट पनि पदमुक्त भएका थिए। लगत्तै, शुक्रबार उनीहरूको पुर्ननियुक्ति गरिएको हो।
रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भट्टराई उद्योग, वाणिज्य तथा आपूर्ती, साहलाई शहरी विकास र चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ। माओवादीले कारबाही गर्नुअघि पनि उनीहरू सोही जिम्मेवारीमा थिए।
एमालेमा लागेको भन्दै माओवादीले उनीहरूलाई पार्टीबाट निष्काशन गरेको थियो। उनीहरूलाई संविधानको धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ती गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले बताएका छन्।
उनीहरुले अब बढीमा ६ महिना मन्त्रीको जिम्मेवारी पाउने छन्। संवैधानिक व्यवस्था अनुसार ६ महिनापछि उनीहरूले मन्त्रीबाट हट्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।