बजेटका विषयमा शिक्षा मन्त्रालयसँगको छलफल। काठमाडाैं- संविधानले जेठ १५ गते आर्थिक वर्षको बजेट संघीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था गरेकाले यतिबेला अर्थ मन्त्रालयले बजेटमाथिको छलफलमा व्यस्त रहेको छ।
मन्त्रालयले हरेक मन्त्रालय र पक्षसँग बजेटबारे सुझाव लिनेक्रम तीव्र पारेको छ। मन्त्रालयले हालसम्म १३ वटा मन्त्रालयसँग छलफल गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट तयारीबारे चैत २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयसँग छुट्टाछुट्टै छलफल गरेको अर्थ मन्त्रालयको टोलीले चैत २२ गते ऊर्जा, जलस्रोत तथा सिचाईं, खानेपानी, कृषि तथा पशुपंक्षी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छुट्टाछुट्टै छलफल गरेको थियो।
मन्त्रालयको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग चैत २३ गते छलफल गरेको थियो। मन्त्रालयको टोलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग चैत २४ गते छलफल गरेको थियो।
मन्त्रालयको टोलीले चैत २६ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेको थियो। त्यस्तै, चैत २६ गते नै बजेट तयारीका विषयमा अर्थ मन्त्रालयको टोलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग छलफल गरेको थियो। चैत २६ गते नै बजेट तयारी सम्बन्धी परराष्ट्र, रक्षा मन्त्रालयसँग छलफल गरेको थियो।
अर्थले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल गरेको छ। मन्त्रालयका अनुसार यो छलफल केही दिन चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।