फाइल तस्बिर।
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एउटै मञ्चमा जुहारी चलेको छ। कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेकाले चुनावी तयारीमा लाग्न देउवाले आग्रह गरे। त्यसैलाई खण्डन गर्दै पौडेलले चुनाव प्रधानमन्त्री ओलीको नारा भएको बताए।
नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाडाैंमा उद्घाटन समारोहमा दुई नेताबीच जुहारी चलेको हो।
संरकार गठनमा कांंग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसद्मा कांग्रेसको उपस्थितिलाई बुझ्न देउवाले आग्रह गरेका थिए। उनको भनाइ थियो, ‘कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु। कुनै पनि किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानैपर्छ भोलि। चुनावमा जानैपर्ने बाध्यता हुन सक्छ। चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनुपर्छ।’
यसैको जवाफमा पौडेलले सबैले ‘चुनाव चुनाव चुनाव’ भन्ने गरेको बताएका थिए। प्रधानमन्त्री ओलीको नारा नै चुनाव रहेको पाैडेलले बताएका थिए। उनको भनाइ थियो, ‘ओलीको पनि नारा चुनावै हो, हाम्रा साथिहरूको पनि नारा त्यही हो। आज देश त्यसैमा विभाजित छ।’
पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनावमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्नेतर्फ सचेत बन्नुपर्ने उनले बताए। अहिलेको सरकारको कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकोले लोकतन्त्र बचाउनका लागि पनि कांग्रेसले आफूलाई बचाउनुपर्ने उनको तर्क थियो। उनले थपे, ‘पार्टीको अधिवेशन सम्पन्न हुन पाएको छैन पार्टी यस्तो अवस्थामा छ । चुनाव, चुनाव, चुनावमा हामफाल्ने कुरा त्यसले हामीलाई कहाँ पुर्याउँछ?’
देउवाले विभिन्न टिकाटिप्पणी भन्दा पनि वास्तविकताको धरातलमा बसेर काम गर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।