काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चार जना पूर्वमाओवादी नेताहरू पुनः मन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री नियुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनीहरूलाई मन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भट्टराई उद्योग, वाणिज्य तथा आपूर्ती, साहलाई शहरी विकास र चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ। माओवादीले कारबाही गर्नुअघि पनि उनीहरू सोही जिम्मेवारीमा थिए।
एमालेमा लागेको भन्दै माओवादीले उनीहरूलाई पार्टीबाट निष्काशन गरेको थियो। कारबाहीपछि उनीहरूको सांसदसँगै मन्त्री पद समेत गुमेको थियो।
उनीहरूलाई संविधानको धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ती गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले बताएका छन्।
उनीहरू अब ६ महिनाका लागि मात्र मन्त्री हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।