काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेको छ।
प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई बिहीबार क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेका हुन्।
यससँगै अब प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले नगदको सट्टा क्यूआर कोड र पीओएस मेसिनमार्फत् भुक्तानी गर्न सक्ने छन्।
उक्त समारोहमा प्रहरी महानिरीक्षक क्षेत्रीले वाणिज्य बैंकले यसअघि पनि मानवतासम्बन्धी पुनित कार्यमा रक्तसञ्चार केन्द्र निर्माण गर्न प्रहरी अस्पताललाई सहयोग गरेको स्मरण गर्दै आभार व्यक्त गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आधुनिक बैंकिङ सेवा दिन बैंक सधैँ तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरूले अब नगद बोकेर हिँड्नु नपर्ने जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।