काठमाडौं- नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल आगामी वैशाख दोस्रो साता सार्वजनिक हुने भएको छ।
मोटरसाइकल उत्पादक कम्पनी यात्रीले वेबसाइटमार्फत उक्त जानकारी दिएको हो। उक्त मोटरसाइकल युवा इन्जिनियरहरुले नेपालमा नै डिजाइन गरी उत्पादन गरेका हुन्।
यात्री कम्पनीले सन् २०१९ मा पहिलोपटक यसको 'प्रोटोटाइप' सार्वजनिक गरेको थियो। प्रोटोटाइपमा देखाइएको भन्दा मोटरसाइकलको डिजाइनमा ठूलै परिमार्जन हुने कम्पनीले जनाएको छ।
यात्री पी-० विद्युतीय मोटरसाइकले ६४ पीएस पावर प्रदान गर्ने दाबी कम्पनीले गरेको छ। यो मोटरसाइकलको टर्क १२० एनएम हुनेछ। मोटरसाइकलमा आठ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री हुनेछ। यसलाई दुई घन्टामा नै ३.३ किलोवाट क्षमताको चार्जरले फूल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
यो मोटरसाइकलले शून्यदेखि ६० किलोमिटरको स्पिड २.५ सेकेन्डमै पक्डन सक्ने दाबी कम्पनीको छ। यसको उच्च गति १४० किलोमिटर प्रतिघन्टा रहनेछ। कम्पनीले पी-० मोडलमा सात इन्चको टीएफटी डिस्प्ले उपलब्ध गराउने जनाएको छ। यो मोटरसाइकलमा फोरजी सपोर्ट, साँचोरहित स्टार्ट, नेभिगेसनलगायत विशेषता उपलब्ध हुनेछ।
पी-० मा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र १४ सय एमएमको ह्वीलवेसमा निर्माण गरेको छ। मोटरसाइकलको मूल्यलगायत अन्य विशेषताको बारेमा भने कम्पनीले केही खुलाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।