काठमाडौं- सर्वोत्तम सिमेन्ट लिमिटेडले नवलपरासीको सुनवल नगरपालिकामा १५ बेड क्षमताको अस्पताल निर्माण गर्ने भएको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाएको हो। कम्पनीले सुनवल नगरपालिकालाई प्रतिबद्धतापत्र समेत प्रदान गरेको छ।
सुनवलमा भएको एक कार्यक्रममा उक्त अस्पताल निर्माणको प्रतिबद्धतापत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई प्रदान गरे। करिब चार करोड रूपैयाँको लागतमा अस्पताल निर्माण गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ। उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसमेत उपस्थित थिए।
यसैगरी, कम्पनीका अध्यक्ष न्यौपानेले आफ्नो बुबा लिलाराम न्यौपानेको स्मृतिमा भैरहवास्थित भीम अस्पतालमा निर्माण गरेको लिलाराम न्यौपाने आकस्मिक कक्षको उद्घाटन गरिएको छ। उक्त अत्याधुनिक कक्षमा २५ बेडसहित तीनवटा आईसीयू तथा दुई भेन्टिलेटरसमेतको सुविधा रहेको छ। दुईतले सो भवन तीन करोड २५ लाख रूपैयाँ लागतमा निर्माण भएको जानकारी दिइएको छ।
सर्वोत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।