काठमाडौं–नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन्।
जोशीको १३औं दिनको पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले स्व जोशी भविष्यमा पार्टी हाँक्ने क्षमतायुक्त नेता भएको बताए।
लोकतन्त्रलाई संस्थागत गरेमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने सभापति देउवाको भनाइ थियो। ‘छोटो समयमा धेरै काम गर्न सक्ने अध्ययनशील नेता हुनुहुन्थ्यो जोशी,’ उनले भने, ‘केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो।’
आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको उनको भनाइ थियो। चुनाव हार्दैमा कांग्रेस संकटमा नपरेको सभापति देउवाले बताए।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताए। विसं २०४६ को जनआन्दोलन पहिले विद्यार्थीका रुपमा र त्यसपछि कांग्रेसमा बसेर स्व जोशीले लोकतन्त्र स्थापनामा खेलेको भूमिका स्मरणयोग्य रहेको वरिष्ठ नेता पौडेलले बताए।
पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।