काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले पोखराका व्यावसायिक पसलहरूमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरूआत गरेको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुंगामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरूबाट सामान खरिद गरेर क्यूआर कोडबाट भुक्तानी गरी क्यूआर कोड सेवाको शुभारम्भ गरे। उक्त अवसरमा नेपाल राष्ट्र बैंक पोखराका प्रमुख निर्देशक इश्वरीप्रसाद भट्टराई, सहायक निर्देशक धनञ्जय पराजुली, मेगा बैंकका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, प्रदेश कार्यालयका बजार विभाग प्रमुख लेखनाथ गौतम, नायव प्रदेश प्रमुख राजेन्द्र कोइरालाको उपस्थिति थियो।
यो व्यवस्थासँगै पोखराका उपभोक्ताहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत् सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने छन्। नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने राष्ट्र बैंकको नीतिबमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको विस्तारलाई तीव्रता दिइरहेको छ।
क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको बैंकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।