काठमाडाैं- नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेकी छिन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिकता गुमाएकाले तत्काल राजीनामा दिनुपर्ने माग गरिन्।
सत्ता टिकाउन प्रधानमन्त्री ओली जे-जस्तो कूकर्म गर्न पनि तयार हुने भन्दै उनले उनका गतिविधिले पुष्टि गरेको दाबी गरिन्। प्रतिनिधिसभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुन:स्थापनापछि संसद्लाई बिजनेसविहीन बनाएको आरोप लगाइन्।
‘प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा पुन:स्थापना भएको र अहिले उनी सत्ता टिकाउन जे पनि गर्न लागिपरेकाले म संसद्मार्फत प्रधानमन्त्रीको राजीनामा माग्छु,’ सांसद संग्राैलाले भनिन्, ‘भ्रष्टाचार र सरकार एक अर्काका परिपूरक हुन्। जनताप्रति अनुत्तरदायी सरकार चाँडोभन्दा चाँडो बहिर्गमन आजको आवश्यकता हो।’
सर्वोच्चले संसद्को पुन:स्थापना गरेपछि प्रधानमन्त्रीको नैतिकता गुमेको उनको दाबी छ। ‘सरकारको धेरै कुरा नगरौँ। तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड अडियो डिल प्रकरणको कुरा आएको थियो, त्यो कहाँ पुग्यो?,’ उनले भनिन्, ‘स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको सार्वजनिक भयो, अनि वनमन्त्रीले आफूलाई एक करोड रुपैयाँ घुस दिन आएको कुरा सार्वजनिक रुपमा भनेका थिए, त्यसमा के कारबाही भयो?’
प्रधानमन्त्री अझै पनि भ्रष्टाचारमा शून्य सहनशीलता भन्न नछोड्ने तर यस्ता भ्रष्टाचारमा छानविन नहुने कुरा लज्जास्पद भएको उनको भनाइ थियो।
कोरोनाको पहिलो डोज लगाएकाले दोस्रो डोज नपाएको भन्दै उनले तत्काल दोस्रो डोज लगाउने व्यवस्था गर्न माग गरिन्। प्रधानमन्त्रीले बालुवाटारमै बसेर पूर्वतयारी नभएका सडकदेखि अस्पतालसम्म उद्घाटन गरेको आरोपसमेत उनले लगाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।