काठमाडौं- नेकपा (एमालेका) वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षसँग तीनवटा विकल्प रहेको बताएका छन्। आइतबार काठमाडौं जिल्लामा समानान्तर कमिटी घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले विकल्पहरूको चर्चा गरेका हुन्।
'एउटा विकल्प केपी ओलीको टाङमुनि छिर्नु हो', नेपालले भने, 'केपी ओलीका सामु आत्मसमर्पण गर्नु हो।'
उनले सुनाएको दोस्रो विकल्पमा राजनीति छाड्नु रहेको छ। 'दोस्रो विकल्प भनेको राजनीति छाडेर गेरुवस्त्र लगाएर हिँड्नु हो। वैराग जागेर, निराश भएर बस्नु हो', उनले भने।
नेपालले उल्लेखित दुवै विकल्प आफूहरूले नजानेको बताए।
'सही बाटोमा निरन्तर अगाडि बढिन्छ। गलत कुराका विरुद्ध दृढताका साथ जुधिन्छ। मैदान छाडेर भागिने छैन। पिठ्युँ फर्काएर भागिने छैन। दृढताका साथ छाती अगाडि सारेर अगाडि बढिन्छ', उनले भने।
नेपालले आफूहरू सही बाटोमा भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।