काठमाडौं–एनआइसी एशिया बैंकले धरानको सब्जीमण्डीमा क्यूआर कोड वितरण गरेको छ। धरान उपमहानगरपालिकास्थित भानु चोकमा रहेको सब्जीमण्डीमा रहेका तरकारी तथा फलफूल पसलमा क्यूआर कोड वितरण गरेको हो।
नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष रामकुमार दास र बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमबीच व्यवसायीलाई क्यूआर कोड स्क्यानर प्रदान गरेका थिए।
बैंकको मोबाइल बैंकिङ, फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले मोबाइल बैंकिङ एप÷वालेटमार्फत बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी रकम भुक्तानी गर्न सकिनेछ। ग्राहकले तिरको रकम सम्बन्धित विक्रेताको बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ।
बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोरलगायत अन्य व्यावसायिक क्षेत्रलाई समेत क्यूआर भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।