काठमाडाैं- फिलिपिन्स राष्ट्रपति रोड्रिगो दुतेर्तेले देशमा जारी लकडाउनलाई अझ कडा पार्ने बताएका छन्। कोरोन भाइरसको महामारी थप फैलिदै गएकाले त्यसलाई न्युनिकरण गर्न लकडाउन कडा पार्न लागिएकाे उनले बताएका हुन्।
शनिबार राजधानी मनिला महानगरपालिका र छिमेकी क्षेत्रमा लकडाउन थप गरिएको छ । देशमा जारी एक हप्ते लकडाउन आइतबार सकिँदै थियाे ।
राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले शनिबार टेलिभिजनमार्फत दिएको जानकारी अनुसार सरोकारवाला र विज्ञहरुकाे सुझाव अनुसार लकडाउनको अवधि थप गरिएको हो ।
देशको लागुना, बुलाकान, काभित र रिजाल क्षेत्रमा लकडाउनको अवधि लम्बिएको पनि उनले जानकारी दिए।
फिलिपिन्समा शनिबार मात्रै १२ हजार ५७६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। यसअघि गत शुक्रबार एकैदिनमा १५ हजार ३१० जना संक्रमित भएका छन् ।
फिलिपिन्समा अहिलेसम्म कोरोनाबाट सात लाख ८४ हजार ४३ जना संक्रमित भएका छन् भने १३ हजार ४२३ जनाको मृत्यु भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।