काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिनुपर्ने अवस्था आएमा आफूहरुले राष्ट्रहित हेरेर निर्णय गर्ने बताएका छन्।
शनिबार नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिमा यथार्थपरक हुनुपर्ने भएकाले कुन बेला के निर्णय आउँछ र त्यसको प्रभाव के पर्छ, त्यसको आधारमा निर्णय गर्ने बताए।
‘त्यसपछि घटनाक्रम कसरी अगाडि बढ्छन्। त्यसलाई नजिकबाट हेर्छौं। त्यो बेलामा राष्ट्रहितमा, हामीले जुन उद्देश्यका साथ यो पार्टीलाई अगाडि बढाएका छौं। राष्ट्रको सर्वोपरी हित र जनताको हित त्यसमा अन्तर्निहित छन्। त्यसबेलामा के निर्णय गर्नुपर्छ, त्यो कुरालाई आधार बनाएर निर्णय गर्छौं’, रावलले भने।
सो पक्षले तीन महिने अभियान चलाउने निर्णय गरेको छ। असार १५ गतेसम्मका चल्ने अभियानका लागि विभिन्न कार्यक्रम तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।