काठमाडाैं- भारतको ओडिसामा काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि राज्यका १० जिल्लामा रात्रकालीन कर्फ्यू लगाइएकाे छ। साेमबारबाट लागु हुनेगरी बेलुका १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यू लगाइएकाे हाे।
ओडिसाकाे सुन्दरगढ, झर्सुगुडा, संबलपुर, बरगढ, बलांगिर, नुआपडा, कालाहाडी, नवरंगपुर, काेरापुट र मलकानगिरीमा कर्फ्यू लगाइएकाे हाे। कर्फ्यूकाे समयमा पसल, उद्याेग, कलकारखना र सार्वजनिक यातायात बन्द गरिएकाे छ। ओडिसामा पछिल्लाे २४ घण्टामा ४५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
भारतमा पछिल्लाे समय काेराेना भाइरस संक्रमितकाे संख्या बढ्दै गएकाे छ। शुक्रबार मात्रै उत्तर प्रदेशका ८ कक्षासम्मका सबै विद्यालय ११ अप्रिलसम्मका लागि बन्द गरिएकाे छ। यसअघि उत्तर प्रदेशमा ४ अप्रिलसम्म विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको थियो।
यता कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यको धेरै जिल्लाहरुमा रात्रीकालीन कर्फ्यू र आंशिक प्रतिबन्ध लगाइएको छ।यस्तै पुणे प्रशासनले शुक्रबारदेखि जिल्लामा बार, होटल, रेष्टुरेन्टहरू ७ दिनसम्म बन्द गर्न आदेश दिएकाे छ। खानाहरुलाई भने होम डेलिभरीलाई अनुमति दिइनेछ।
अन्त्येष्टि र विवाहबाहेक कुनै सार्वजनिक समारोहलाई अनुमति दिइने छैन। अन्त्येष्टि अधिकतम २० व्यक्ति र विवाहमा ५० व्यक्तिले भाग लिन सक्नेछन्। शनिबार बेलुका ७ देखि बिहान ६ सम्म १२ घण्टे कर्फ्यू लागु गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।