काठमाडाैं- म्यानमारमा सैन्य ‘कू’विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएकाे गोली लागेर थप पाँच जनाकाे मृत्यु भएकाे छ। समाचार संस्था रोयटर्सका अनुसार शनिबार मोनिवामा तीन, बागाे र थाटाेनमा एक-एक जनाकाे ज्यान गएकाे हाे।
‘केन्द्रीय शहर मोनिवामा हप्ताैंपछि ठूलो प्रदर्शन भएकाे थियाे। उक्त प्रदर्शनलाई राेक्न सुरक्षा बलले भीडमा गोली चलाएका थिए। त्यहाँ कम्तिमा चार व्यक्तिको मृत्यु भएकाे छ र धेरै घाइते भएका छन्,’ स्थानिय मिडियाहरुले भनेका छन्।
बग्गो साप्ताहिक जर्नल अनलाइन समाचार पोर्टलका अनुसार दक्षिणी शहर थाटनमा एक व्यक्तिलाई गोली हानी हत्या गरिएकाे छ र बागोमा एक जनाकाे मृत्यु भएकाे छ।
म्यानमारमा दैनिक प्रदर्शनमा मारिने क्रम चलिरहे पनि प्रदर्शन रोकिएको छैन। एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार फेब्रुअरी १ पछिको प्रदर्शनका क्रममा ४६ बालबालिकासहित ५५५ भन्दा बढीकाे मृत्यु भएको छ।
म्यानमारका डिफेन्स सर्भिस अफ चीफ मिन आङ लाइङ्गले गत नोभेम्बरमा सम्पन्न चुनावमा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले धाधँली गरेको आरोप लगाउँदै आङ सान सू चीसहित दलका प्रमुख नेताहरुलाई सुरक्षा बलले बन्धक बनाएका थिए। त्यसयता सेनाले नै सरकार चलाउँदै आएको छ।
प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै भइरहेको शान्तिपूर्ण प्रदर्शनमा सेनाले व्यापक दमन गरिरहेको छ। हालसम्म २७ सय ५१ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको लिइएको छ।
म्यानमारमा लोकतन्त्र पुनर्वाहलीको लागि संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, भारत लगायत विश्वका धेरैजसो देशहरुले आव्हान गरिरहेका छन् । तर, म्यानमारको सेनाले भने अवस्था सामान्य बनाउने कुनै पहल गरेकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।