काठमाडाैं- बेलायतमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीद्वारा विकसित काेराेनाविरुद्धकाे खोप लगाएका ७ जनाको मृत्यु भएकाे छ। खोप लगाएका अन्य २३ जनाको स्वास्थ्य अवस्था बिग्रिएको छ।
बेलायतका मेडिकल अधिकारीका अनुसार खोप लगाएपछि उनीहरूको टाउकोमा रगत जम्ने समस्या देखिएको थियो। अस्पताल भर्ना गरिएकामा ७ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ।
गत महिना मार्चमा केही युरोपियन मुलुकले याे खोप प्रयोगमा प्रतिबन्ध लगाएका थिए। तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो खोप पूर्ण सुरक्षित रहेकाे दावी गर्दै आएकाे थियाे।
यता क्यानडा सरकारले पनि ५५ वर्षभन्दा कम उमेरका नागरिकलाई लगाउँदै आएको कोरोनाविरुद्ध खोप अभियान स्थगित गरेको छ। खोपले उक्त समूहका व्यक्तिको रगत जम्न थालेपछि सरकारले अभियान रोकेको हो।
‘सम्भावित जोखिमको तुलनामा ५५ वर्षभन्दा कम उमेरका मानिसहरूलाई एस्ट्राजेनेका खोपबाट हुने फाइदाहरूबारे धेरै अनिश्चितता रहेको छ,’ खोप सम्बन्धी राष्ट्रिय सल्लाहकार समितिका अध्यक्ष डा शेली डिकले भनिकी छिन्।
समितिका अनुसार यो खोप लगाएका प्रत्येक १० लाखमध्ये एक जनामा रगत जम्ने समस्या देखिएको छ। ‘रगत जम्ने गुनासो गर्नेहरु ५५ वर्षभन्दा कम उमेरका महिला थिए र उनीहरुको मृत्युदर ४० प्रतिशत थियो,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।