फाइल तस्बिर।
काठमाडाैं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कारबाहीले समाधान हुने भए दुनियाँमा केही पनि समस्या नै नआउने टिप्पणी गरेका छन्।
एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल पक्षको शनिबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूहरूले कारबाहीलाई ठूलो रूपमा नलिएको बताए।
'कारबाहीलाई हामीले ठूलो रुपमा लिएका छैनौं। उहाँ (एमाले अध्यक्ष केपी शर्मा ओली) को मनमौजी चलिरहेको छ, उतापट्टी (ओली)को गुटमा सबै अधिकार नै अध्यक्षलाई दिइएको छ', भट्टराईले भने, 'त्यस आधारमा उहाँले कारबाही गर्नुभएको छ। यस्ता कारबाही, जेलनेल, निष्काशन लगायतले समस्या समाधान हुने भएदेखि त दुनियाँमा अरु समस्या नै आउने थिएन। त्यसैले यस्ता कुराले हामीलाई छुँदैन।'
उनले आफूहरू अब आफ्नै हिसाबमा चल्ने बताए। यद्यपि, पार्टी एकताका लागि आफूहरू सँधै तयार रहेकाे उनको भनाइ छ।
'हामी आफ्नो ढंगले जान्छौं। तर, पनि हामी पार्टी एकताका लागि सदैव तत्पर छौं। मलाई लाग्छ, कुनै दिन अध्यक्षले आफ्ना यी गतिविधिमाथि पुनर्विचार गर्नुहुन्छ। उहाँलाई त्यहाँबाट फर्किनुबाहेक विकल्प छैन', भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।