काठमाडाैं- म्यानमारमा सुरक्षा फाैजले चलाएकाे गाेली लागेर दक्षिण कोरियाको शिन्हान बैंककी एक महिला कर्मचारीकाे मृत्यु भएकाे छ।
बुधबार ताम्वे टाउनकाे यू चित मउग सडकमा सुरक्षा फाैजले चलाएकाे गाेली ३३ वर्षीय सु सु चीकाे टाउकाेमा लागेकाे थियाे। दुई दिन यता रंगुनस्थित जनरल अस्पतालमा उपचार गराइरहेकी उनकाे शुक्रबार मृत्यु भएकाे स्थानिय समाचार माध्यम म्यानमार नाउले जनाएकाे छ।
समाचारमा जनाइएअनुसार उनी सवार गाडीलाई सुरक्षा फाैजले राेक्न आदेश दिएकाे थियाे। राेकेपछि सुरक्षा फाैजले डाइभरसहित गाडीमा आगाे लगाएका थिए।
‘शिन्हान बैंकको गाडीको सिटमा रगत देखिएको थियो र एकजना महिलालाई घाइते थिए।गाडीमा आगाे लगाइएकाे थियाे,’ समाचारमा भनिएकाे छ। यता शिन्हन बैंकले रंगुनमा आफ्नाे कर्मचारी मारिएपछि म्यानमार रहेकाे सम्पूर्ण बैक बन्द गर्ने घाेषणा गरेकाे छ।

कोरिया टाइम्सका अनुसार सैन्य ‘कू’पछि रंगुन कार्यालयका सबै कर्मचारीहरू घरबाटै काम गर्न थालेका थिए। शिन्हान मुख्यालयले कोरियाली कर्मचारीहरुलाई म्यानमार छोड्न आदेश दिने भएकाे छ।
एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी प्रदर्शनमा ४६ बालबालिकासहित ५५० जनाको मृत्यु भएको छ।
म्यानमारका डिफेन्स सर्भिस अफ चीफ मिन आङ लाइङ्गले गत नोभेम्बरमा सम्पन्न चुनावमा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले धाधँली गरेको आरोप लगाउँदै आङ सान सू चीसहित दलका प्रमुख नेताहरुलाई सुरक्षा बलले बन्धक बनाएका थिए। त्यसयता सेनाले नै सरकार चलाउँदै आएको छ।
प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै भइरहेको शान्तिपूर्ण प्रदर्शनमा सेनाले व्यापक दमन गरिरहेको छ। हालसम्म २७ सय ५१ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।