काठमाडाैं- भारतकाे राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन लागु गर्ने कुनै याेजना नरहेकाे बताएका छन्। शुक्रबार कोरोना संक्रमणसम्बन्धी कार्ययोजना तयार पार्न बसेकाे बैठकपछि पत्रकारसँग उनले हाललाई दिल्लीमा लकडाउन लागु नगर्ने बताएका हुन्।
दिल्लीमा काेराेना संक्रमित र मृतककाे संख्या दिनप्रतिदिन बढ्दै गएकाे छ। स्वास्थ्य अधिकारीहरुका अनुसार दिल्लीमा काेराेनाकाे चाैथाे लहर चलिरहेकाे छ।
गत २४ घण्टमा मात्रै ३५ सय ८३ काेराेना संक्रमित फेला परेका थिए। तर, अहिले लकडाउन गर्नुपर्ने कुनै कारण नरहेकाे केजरीवालले बताए। 'लकडाउन लगाउने कुनै कुनै सोच छैन। यदी खाँचो पर्याे भने दिल्लीका जनताको सल्लाह लिन्छाैं,' उनले भने।
काेराेना संक्रमण फैलिँदै गएकाले फेरि लकडाउन लागू हुने आशङ्का र चर्चा चलिरहेकाे थियाे। उनले काेराेना संक्रमणलाई नियन्त्रण गर्न आफूले सम्भव सबै कदम चालेको समेत बताए। 'बिहीबार ७१ हजारले काेराेनाविरुद्धकाे खाेप लगाएका छन्। अन्यले पनि लाउने क्रम जारी छ। यस्ताे अवस्थामा आतिनु हुन्न,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।