काठमाडौं- ‘चौथो नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी’को मिति परिवर्तन भएको छ। यही चैत २७, २८ र २९ गते आयोजना गर्ने भनिएको प्रदर्शनी आगामी भदौसम्मका लागि स्थगित गरिएको हो।
छिमेकी मुलुकहरूमा कोभिड-१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीको मिति परिवर्तन गरिएको आयोजकले जानकारी दिएको छ। अब उक्त प्रदर्शनी आगामी भदौ ११ देखि १३ गतेसम्म आयोजना गरिने छ।
‘नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको यस अनुरोधले प्रदर्शनीमा भाग लिन आउने स्वदेशी तथा विदेशी कम्पनीहरू एवं देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनुहुने महानुभावहरूलाई पर्नसक्ने स्वास्थ्य एवं आवतजावतको समस्यालाई मध्यनजर गर्दै यस प्रदर्शनीलाई २०७८ साल भदौ ११ देखि १३ गतेका लागि मिति परिवर्तन गरिएको जानकारी गराउँदछौं,’ आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।