काठमाडौं - आजबाट १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन हुने भएकाे छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोगको उच्च जोखिममा रहेका १२ जिल्लाका १ सय २९ स्थानीय तहका ७० लाख ४५ हजार जनालाई औषधि खुवाउने लक्ष्य राखेकाे छ।
अझै पनि मानिसहरुमा हात्तीपाइले रोग विरुद्धको औषधिलाई लिएर विभिन्न भ्रमहरु छन्। हात्तीपाइले मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। शरीरमा यसको परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन्। लक्षण देखिइसकेपछि भने यो रोग निको पार्न सकिँदैन।
नेपालमा अझै पनि करिब ३० हजार जना हात्तीपाइले रोगी रहेको सरकारी अनुमानित तथ्यांक छ। हात्तीपाइले रोग निवारणका लागि १२ जिल्लामा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदैछन्।
औषधिको सेवनपछि बिरामी पर्ने, मृत्यु हुने र विभिन्न किसिमका साइड इफेक्ट देखिन सक्ने भन्दै कतिपयले औषधि खाँदैनन्। तर, यो सबै भ्रम रहेको चिकित्सक बताउँछन्।
सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न सबैलाई आग्रह गर्छन्। औषधिको सेवनले मात्र हात्तीपाइले रोगबाट बचाउन सक्ने उनले बताए। यद्यपि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु, कडा रोगको लागि औषधि सेवन गरिरहेकाहरु, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।