काठमाडौं- नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने दिशामा अघि बढेको टिप्पणी गरेका छन्।
बिहीबार एमाले नेता पाण्डे र घनश्याम भुसाललाई ओलीले पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै पाण्डेले यसलाई पूर्वनियोजित र अपेक्षित नै रहेको बताएका छन्।
उनले ओली लामो समयदेखि गुटपरस्त रहेको दाबी समेत गरेका छन्। गुटबन्दी गर्दागर्दै ओलीले नवौं महाधिवेशनबाट पार्टी कब्जा गरेको पाण्डेको आरोप छ।
‘गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप हो। यसले आन्दोलनलाई नोक्सानी गर्छ नै। एमाले र मुलुकको कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर लाग्नु भएको छ’, पाण्डेले लेखेका छन्।
उनले आफूहरूले कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न नदिने उल्लेख गरेका छन्। ‘यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी राख्दैनौं। घोषणा पत्रमार्फत् गरिएको वाचाहरू, समृद्ध नेपाल निर्माण गर्ने अभिभाराहरू हामी पुरा गर्नेछौं’, पाण्डेले लेखेका छन्, ‘थप सशक्त, अझ जुझारू र गम्भीर भएर अघि बढ्छौं।’
एमाले अध्यक्ष ओलीले पाण्डे र भुसालको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बिहीबार ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्। यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि ओलीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।