काठमाडौं- सहकारी संस्थाको रकम अपचलन र हिनाहिना गरेको कसूरमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। देउखुरी बचत तथा ऋण सहकारी संस्थाबाट ४ करोड रूपैयाँ हिनामिना गरेका सोही संस्थाका विक्रम रानालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजालका अनुसार पक्राउ परेका राना सोही सहकारीमा सहायक लेखापालका रूपमा कार्यरत थिए। सहकारीको रकम हिनामिना भएपछि संस्थागत रूपमै उजुरी परेको र सोही उजुरीका आधारमा रानालाई पक्राउ गरेको डीएसपी रिजालले बताए।
‘देउखुरी बचत तथा ऋण सहकारीले नै सहलेखापाल रानाविरुद्ध सदस्यहरूको रकम हिनामिना तथा ठगी गरेको भन्दै उजुरी गरेको थियो,’ उनले भने, ‘रानालाई पक्राउ गरिसकेका छाैं। र, यो घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको छ।’
पछिल्लो समय संचालक र कर्मचारीबाटै सहकारीको रकम हिनामिना र अपचलन गरी फरार हुने घटना बढ्दै गएका छन्। केही समय अघि मात्र काठमाडौंका ४ वटा सहकारीका संचालकहरूले रकम हिनामिना गरी ठगी गरेको घटना बाहिरिएको थियो।
यो पनि पढ्नुहोस्
सञ्चालकको बेइमानीले हजारौं सदस्यको बचत डुब्दै
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।