काठमाडाैं- नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली मुलुकलाई बर्बादीमा पुर्याएको आरोप लगाएका छन्।
पार्टीबाट छ महिनाका लागि ओलीले निलम्बन गरेपछि उनले सामाजिक सञ्जालमा धारणा राख्दै कारबाहीको प्रतिवाद गरेका छन्।
‘उनको (ओलीको) व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ,’ नेता भुसालले भनेका छन्। पार्टी अध्यक्ष भएर ओलीले गरेका बर्बादीका लागि दुनियाँसँग आफूले माफी माग्नेसमेत उनले प्रस्ट्याएका छन्।
असीमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीले ‘म’ र ‘मेरो’बाहेक केही नदेखेको भुसालको टिप्पणी छ। ‘म बस्न नपाउने कुर्सी भाँचिदिन्छु, यो उनी आफैंले कबुल गरेको जीवनदर्शन हो। एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए,’ नेता भुसालले भने,‘अहिले त्यो गुट राज्यदोहनमा लागेको गिरोहमा परिणत भएको उनका लागि संसारमा या त चाकर छन् या शत्रु।’
पार्टी गौरवको चीरहरण गर्ने कार्य ओलीबाट भएको आरोप लगाउँदै भुसालले कारबाहीप्रति टिप्पणी गरे,‘हामीले सामना गरौँला/गर्नेछौँ। तर, यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।