काठमाडौं–आस्क मी भर्चुअल जब फेयरको दोस्रो संस्करण सुरु भएको छ। आस्कमी म्यानेजमेन्टले राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा गरेको अनलाइन प्लाटफर्ममा आस्क मी भर्चुअल जब फेयर २०२१ बुधबारदेखि सुरु भएको हो।
कोरोना महामारीबीच सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बिस्तार गरी सकारात्मक सन्देश प्रवाह गर्ने आस्क मी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले बताइन्।
‘हामीले पहिलो पटक २०२० मा यो कन्सेप्ट ल्याउँदा नेपालको लागि नयाँ थियो,’ कुँवरले भनिन्, ‘पहिलो वर्ष नै ४० भन्दा बढी कम्पनीले विश्वास गरेका कारण नै हामीले पूर्ण सफलताका साथ पहिलो संस्करणको भर्चुअल जब फेयर सञ्चालन गरेका थियौं।’ यस पटक ५० भन्दा बढी कम्पनीमा रोजगारी दिने लक्ष्यका साथ दोस्रो संस्करणको जब फेयर आयोजना गरिएको उनको भनाइ थियो
फेयरमा फिचर रिक्रुएटरका रूपमा रोजगारी दिनका लागि नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एसिया बैंक, जावलाखेल ग्रुप, एसबी वेब, एनएमबि बैंक, नेपाल बंगलादेश बैंक, एनसिसी बैंक, लक्ष्मी बैंक, अग्नि ग्रुप लगायतले सहभागिता जनाएको उनले जानकारी दिइन्।
यसैगरी सांग्रिला डेभलपमेन्ट बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, आईएमई पे, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आस्कमी पसल लगायतका कम्पनीहरु रोजगारदाताका रूपमा जब फेयरमा सहभागी भएका छन्।
जब फेयरको पेमेन्ट पार्टनरका रूपमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपीएसले सहकार्य गरेको छ।
फेयरमा सहभागी हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमी कन्सल्ट डटकम स्लास इम्प्लोयर ड्यास जोनमा लगइन गर्नुपर्ने कम्पनीले जनाएको छ। यो पोर्टलबाट जब फेयरमा अनलाइन स्टल राख्न समेत सकिन्छ ।
कतिपय कम्पनीहरुले अनलाइन अन्तर्वार्ता लिएर पनि कर्मचारी नियुक्त गर्न सकिने व्यवस्थासमेत गरेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।