काठमाडाैं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुख गोविन्दप्रसाद कलाैनीले ध्यानाकर्षण गराएका छन्। नेकपा (एमाले)ले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन चैत ५ गतेदेखि लागू हुनेगरी फिर्ता लिएकाले विश्वासको मत लिन प्रदेश प्रमुख कलाैनीले ध्यानाकर्षण पत्र पठाएका हुन्।
एमाले र माओवादीबीच एकता हुनुअघि माओवादी केन्द्रका नेता शाही एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर, फागुन २३ गते सर्वाेच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएसँगै शाहीको सत्ता सकंटमा परेको थियो।
शुरुमा केपी शर्मा ओली पक्षका सांसदले मात्र समर्थन फिर्ता लिएकामा अहिले माधवकुमार नेपाल पक्षका सांसदले पनि उनलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्।
सरकारलाई दिएको समर्थन प्रमुख सत्ताघटक एमालेले फिर्ता लिएसँगै मुख्यमन्त्री शाहीमाथि विश्वासको मत लिनुपर्ने दबाब बढेको छ। प्रदेश प्रमुखले नै यसनिम्ति ध्यानाकर्षण पत्र पठाएपछि मुख्यमन्त्रीमाथि दबाब बढेको हो।
संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभाजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
४० प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेशमा एमालेका २० सांसदमध्ये राजबहादुर शाही सभामुख छन्। माओवादी केन्द्रका १३ सांसदमध्ये धर्मराज रेग्मी एमाले प्रवेश गरिसकेका छन् भने नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद् छन्।
शाहीलाई मुख्यमन्त्री कायम रहिरहनका लागि ९ मत आवश्यक पर्छ भने एमालेलाई सरकार गठनका लागि २ मत भए पुग्छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।