काठमाडाैं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस अस्वीकार गर्ने एक प्रहरी नायव निरीक्षकसहित ३४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ। सम्मानित हुनेमध्ये ७ जनालाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरि पुरस्कृत गरेको महाशाखाले जनाएको छ।
यसरी पुरस्कृत हुनेहरूमा प्रहरी हवल्दार भीमबहादुर बोहोरा र वसन्तकुमार गौतम, प्रहरी जवानहरू विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लालबहादुर बिक र शंकरकुमार पन्त रहेका छन्।
'प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लंघन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नियमित ब्रिफिङ एवं निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुस दिन खोज्ने १३६ जना चालकहरूलाई पक्राउ गरि कारबाही गरेका छाैं', महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने।
ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाहीपश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने गरेका ट्राफिक प्रहरीले जनाएको छ।
आम सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लंघनपश्चात हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ।
यस प्रकारका गलत संस्कारले नियम नमान्ने परिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने एसएसपी भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।