काठमाडौं- कोरोना महामारीका कारण विश्वका अधिकांश देशको आर्थिक वृृद्धिदर नकारात्मक दिशातर्फ उन्मुख छ। नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्षमा माइनस १.९९ प्रतिशत भएको थियो। तर, कारोना विरुद्धको खोपले अर्थतन्त्र सुधारमा आशा जगाएको विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो प्रक्षेपणले देखाएको छ।
विश्व बैंकले बुधबार सार्वजनिक गरेको विवरणमा दक्षिण एसियाली मुलुहरुको कुल गार्हस्थ उत्पादनमा सुधार हुने जनाएको छ। तर, सरकारले चालु आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गरेपनि विश्व बैंकले २.७ प्रतिशत मात्र हुने अनुमान गरेको छ।
२०२१ को जनवरी र २०२० को अक्टोबरको प्रक्षेपणमा बैंकले अहिले संशोधन गरेर यस्तो तथ्यांक सार्वजनिक गरेको हो। संशोधनमा नेपालको आर्थिक वृद्धिदर अनुमान गरेभन्दा छिटो पुनरुत्थानको बाटोमा देखिएको उल्लेख छ।
बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत र २०७९/८० मा पुग्दा ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो। यसअघि विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा १.४ प्रतिशतको मात्र वृद्धिदर गरेको थियो।
संशोधन प्रक्षेपणमा भने ३.९ प्रतिशतसम्म वृद्धिदर रहने अनुमान गरेको छ। साथै, बैंकले रेमिट्यान्स र खोप अभियानको सकारात्मक प्रभाव नेपालको अर्थतन्त्रमा परेको उल्लेख गरेको छ।
विश्व बैंकको प्रक्षेपण अनुसार भारतको अर्थतन्त्रमा गत आवमा वृद्धिदर माइनस ८.५ प्रतिशत रहेपनि चालु आवमै १०.१ प्रतिशतसम्म आर्थिक वृद्धिदर पुग्ने प्रक्षेपण गरेको छ। प्रक्षेपणमा सन् २०२१ मा दक्षिण एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदरमै सुधार हुने उल्लेख छ।
सन् २०२० मा माइनस ५.४ प्रतिशतको नकारात्मक वृद्धिदर भोगेको यो भेगमा सन् २०२१ मा ७.२ प्रतिशतको वृद्धिदर कायम हुने पूर्वानुमान विश्व बैंकले गरेको छ। सन् २०२२ मा भने यस भेगमा ४.४ प्रतिशतको वृद्धिदर रहने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।