फाइल तस्बिर
काठमाडाैं–नेकपा एमालेका सांसद् नवराज सिलवालले सांसद्हरुलाई काम गर्नका लागि स्रोत दिन आग्रह गरेका छन्। उनले अपुग बजेट सरकारसँग माग गर्न पनि सभामुखसँग आग्रह गरेका छन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सांसद्को इज्जत भनेको सार्वभौम जनताको इज्जत भएको बताए। सिलवालले जेनेभास्थित इन्टर पार्लियामेन्ट युनियनले संसारभरका संसद् र सांसद्हरुको बारेमा एउटा अध्ययन प्रतिवेदन तयार गरेको भन्दै त्यसका निष्कर्ष प्रस्तुत गरेका थिए।
'नेपालमा जनप्रतिनिधिहरुले संविधानसभामार्फत संविधान बनाउन र त्यसको कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने र जनताको सरोकार उठाउँदै कार्यपालिकालाई जिम्मेवार बनाउन महत्त्वपूर्ण काम गरेका छन्। तर ती सांसद्हरुको अवस्था हरिबिजोग छ भनेर उल्लेख गरेको रहेछ,' उनले भने।
सिलवालले अधिकांश सांसद्हरु सार्वजनिक यातायातमा संसद्को गेटमा पुग्ने र प्रत्येक पटक आफू जनप्रतिनिधि भएको प्रमाणपत्र देखाएर भित्र छिर्ने, उनीहरुको कुनै अफिस नहुने, उनीहरुसँग कुनै कर्मचारी नहुने कुरा प्रतिवेदनमा रहेको बताए।
'उनीहरुलाई ल्यापटपजस्तो सामान्य सुविधाबाट पनि वञ्चित गरिएको छ,' उनले भने, 'संसद् सचिवालयले सांसद्हरुको कामकारबाही प्रभावकारी बनाउन कुनै कार्ययोजना बनाउने गरेको हुँदैन। तर पनि उनीहरुले जनताको पक्षमा राम्रो काम गरेका छन् भनेको रहेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।