काठमाडाैं- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका ग्राहक र कर्मचारीले कलंकीस्थित नेसनल अस्पतालको सेवामा २० प्रतिशतसम्म छुट पाइने भएको छ। क्लासिक टेक र नेसनल अस्पतालबीच सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको हो।
सम्झौतापछि क्लासिक टेकका कर्मचारी र ग्राहकलाई उक्त अस्पतालमा गरिने उपचारमा १५ देखि २० प्रतिशतसम्मको छुट प्राप्त हुने कम्पनीले जानकारी दिएको छ। मेडिकल, ल्याब परीक्षण तथा अस्पतालको बिरामी बेडको शुल्कमा ग्राहक तथा कर्मचारीले छुट प्राप्त गर्ने छन्। क्लासिक टेकले नेपालमै पहिलोपटक आफ्ना इन्टरनेट सेवाका ग्राहकहरुका स्वास्थ्यलाई ध्यानमा राखेर यो सम्झौता गरेको जनाएको छ।
सम्झौतामा नेसनल अस्पतालका प्रबन्धक कमलप्रसाद गजुरेल र क्लासिक टेकका कलंकी ब्रान्च म्यानेजर अमृतराज वैद्यले हस्ताक्षर गरेका छन्। अस्पतालका प्रशासकीय अधिकृत किशोर सुवेदीकाअनुसार सम्झौतासँगै क्लासिक टेकका ग्राहक तथा कर्मचारी सबैले अन्य विभिन्न सेवासमेत प्राप्त गर्नसक्ने छन्।
सो सेवा लिनका लागि कम्पनीका कर्मचारीले क्लासिक टेकको आफ्नो परिचयपत्र देखाउनुपर्नेछ भने ग्राहकले मोबाइल एप वा बिल भुक्तानी भएको प्रमाण पेस गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।