काठमाडाैं–सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएका उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतासम्बन्धी रिटको पेसी तोकिएको छ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले सुवेदीको विवादमा न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकेका छन्। यसअघि शर्माको योग्यताबारे पनि सर्वोच्चमा मुद्दा परेको थियो। शर्माको मुद्दा न्यायाधीश तेजबहादुर केसीले खारेज गरिदिएका थिए।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए उक्त रिट छ नम्वरमा पेसीमा रहेको छ। सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा पनि योग्यताको प्रश्न उठाउँदै उजुरी दर्ता भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अयोग्य भएको दाबी गर्दै उजुरी दर्ता गराएका हुन्। उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रहेका सुवेदीलाई न्याय परिषद्ले फागुन २८ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरेको थियो। सुवेदीसँगै उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालको नाम सिफारिस गरिएको थियो।
उक्त सिफारिस अनुसार चैत ४ गते सुनुवाइ समितिले सार्वजनिक सूचना आह्वान गरेको थियो। समितिले १५ दिनभित्र उनीहरूको नाममा उजुरी दिन भनेको थियो। संसदीय समितिको सूचनाका आधारमा त्रिपाठीले सुवेदीको योग्यता नपुगेकाले अस्वीकृत गर्नुपर्ने दाबी गरेका छन्।
संविधानको धारा ११९ ले तोकेको योग्यता नपुगेको जिकीर रिट र उजुरीमा गरिएको छ। सर्वोच्च अदालतको न्यायाधीश हुन उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशका रुपमा कम्तिमा पाँच वर्ष काम गरेको हुनुपर्ने उल्लेख भएको तर सुवेदी ३ वर्षदेखि मात्र उच्च अदालतको मुख्य न्यायाधीशको रुपमा कार्यरत रहेको जिकीर गरिएको छ।
संविधानले तोकेको योग्यता मिचेर सुवेदीलाई २०९२ सालपछिको प्रधानन्यायाधीश बनाउनका लागि सिफारिस गरेकाले रोक्न सर्वोच्चबाट अन्तरिम आदेश हुनुपर्ने जिकीर गरिएको छ। संविधानको धारा १२९ मा सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त २० जना स्थायी न्यायाधीश हुने व्यवस्था छ। हाल सर्वोच्चमा प्रधानन्यायाधीशबाहेक १८ स्थायी न्यायाधीश छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।