काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकहरूका लागि विशेष सुविधा दिने भएको छ।
मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकहरूका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो।
सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे। विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरूलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।
रिक्सा चालकहरूले आफ्नै स्वामित्वमा तीन पांग्रे अटो रिक्सा खरिद गरी आफैं सञ्चालन गर्नुपर्नेछ। त्यसका लागि सोही रिक्सा धितो राखे पुग्ने बैंकले जनाएको छ।
बैंककी सिइओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरैभन्दा धेरै व्यक्तिलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढंगले सर्वसुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।