काठमाडौं- श्रीमती जिस्काउनेलाई गाली गर्दा श्रीमानले उल्टै पिटाइ खाएको भिडियो सार्वजनिक भएको छ।
काठमाडौं-२६ मित्रनगरस्थित नयाँ बसपार्कको २ नम्बर गेट अगाडि सडकमा एक जना युवालाई तीन/चार जना मानिसको समूह मिलेर सोमबार कुटपिट भएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा सुनसरी घर भएका अमर लिम्बू श्रीमतीसँग बाटो हिँडिरहेका बेला केही युवाहरुले उनकी श्रीमतीलाई जिस्काएका थिए। श्रीमती जिस्काउनेलाई लिम्बूले गाली गरेपछि उल्टै पिटिएका थिए। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा गोरखाको गण्डकी गाउँपालिका-१ घर भई काठमाडौं ढुंगेधारा बस्ने ३० वर्षीय सोमबहादर गुरुङ, तनहुँको बन्दीपुर-६ घर भई ढुंगेधारा नै बस्ने २३ वर्षीय भरत गुरुङ र तनहुँको शुक्लागण्डकी गाउँपालिका-४ घर भई टोखा नगरपालिका-५ धापासी बस्ने ४५ वर्षीय दीपेन्द्र थापा रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले बताए।
उनीहरुलाई वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनाविरुद्द अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।