काठमाडौं– पत्रकार होम कार्कीको पुस्तक ‘सनैया’ सार्वजनिक भएको छ।किताबमा बैदेशिक रोजगारीका क्रममा विदेशिएका नेपालीको अवस्था तथा उनीहरुले भोगेका विविध विषयको चर्चा गरिएको छ।
किताब पब्लिसर्सले प्रकाशन गरेको ‘सनैया’ सोमबारबाट बजारमा उपलव्ध भएको हो।
कार्की विगत एक दशकदेखि वैदेशिक रोजगारीमा गएका नेपालीले भोगेको पीडा तथा अन्य विविध विषयको रिपोर्टिङमा संलग्न छन्। कतार, साउदी अरब, बहराइन, ओमन र कुबेतमा उनले गरेका स्थलगत लेखनले पनि राम्रो चर्चा पाएका थिए।
सनैया उनले खाडी क्षेत्रमा कार्यरत ५ सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको आधारमा तयार पारिएको पुस्तक हो।‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो,’ उनी भन्छन्, ‘बन्द गरेका आँखावरिपरि उनीहरु झल्झली घुमिरहन्थें । ती झझल्कोहरुलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो, ‘यो किताब त्यसैको परिणाम हो।’
‘सनैया’लाई सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका नेपालीहरुको कथा भन्न सकिने लेखकको भनाइ छ।
यो पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्न–भिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ।
यसमा पाठकले पिडा र समस्या, आँशु र पसिनामात्र हैन, खुशी, प्रेम र सफलताका असामान्य घट्नाहरु पनि पढ्न पाउनेछन्। १८ अध्यायमा विभाजित यो पुस्तक पढ्दा लाग्छ, हामी कुनै आख्यानको दुनियाँमा प्रवेश गर्दैछौं, तर ‘सनैया’ले जब तपाईलाई नेपाली समाजको कठोर यथार्थमा पुर्याउँछ, जो कोहीलाई एकपटक सोच्न बाध्य बनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।