काठमाडौं- वातावरणविद् भुपेन्द्र देवकोटाले विगत तीन दिनदेखि काठमाडौं उपत्यकासहित देशैभर विषाक्त वायु बहेकाले सकेसम्म बालबालिका, दीर्घरोगी र वृद्धवृद्धालाई घरभित्रै बस्न सुझाव दिएका छन्।
वायुमण्डलमा धुलो धुँवासहित अन्य विषाक्त वस्तु मिसिएर वायु चलिरहेकाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सकेसम्म घरबाहिर ननिस्किन उनले अनुरोध गरेका छन्।
सरकारले सबैभन्दा धेरै बालबालिकालाई विषाक्त वायुले असर गर्ने भएकाले शुक्रबारसम्म सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिसकेको छ। ‘अहिले काठमाडौंसहित देशैभर वायुमा धुलो धुँवालगायत एक प्रकारको तुवाँलो लागेको छ। त्यसमा पनि काठमाडौंमा त्यसको असर धेरै देखिएको छ किनकी यहाँ कचौरा आकारको क्षेत्र भएकाले धेरै प्रदूषित हुन्छ’ देवकोटाले नेपाल लाइभसँग भने, ‘यसरी आएको धुलो धुँवाको प्रकृति के हो भन्ने यकीन भएको छैन। यसरी हेर्दा कतै आगलागी भएको भएको हो कि जस्तोपनि देखिन्छ। उता भारतको हरियाना, पन्जाबमा कृषकले गहुँ, धानको भुसमा आगो लगाउँदा पनि त्यसको असर पर्छ।’
प्रदूषण कति दिनसम्म रहने भन्ने कुरा वर्षा र हावाहुरीमा भर पर्ने देवकोटाले बताए। धुलोधुँवामा कार्बनडाइअक्साईडसँगै कार्बनमोनोअक्साईड समेत मिसिएर आउने भएकाले त्यो अत्यन्तै खतरनाक हुने देवकोटाले बताए।
फागुन-चैतमा धेरै हावाहुरी चल्ने, पानी समेत पर्ने गरेपनि यसवर्ष त्यो नहुँदा प्रदूषण बढेको हुन सक्ने उनले अनुमान गरे। ‘फागुन-चैतमा प्राय: धेरै हावाहुरी चल्छ, त्यो हुँदा यस्तो प्रदूषित हावालाई उडाएर लग्ने सम्भावना हुन्थ्यो। यस वर्ष पानी कम परेकाले प्रदूषण बढाउने काम गर्यो’, देवकोटाले भने।
अक्सिजनसँग कार्बनमोनोअक्साईड आउँदा शरीरका रक्तकोषिकाले अक्सिजनभन्दा २ सय गुण छिटो लिने हुँदा शरीरमा क्यान्सरलगायत अन्य विभिन्न खतरनाक रोग समेत निम्तिने खतरा भएको देवकोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।