काठमाडाैं- नेपाली सेनाले सोमबारबाट उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको सुरुआत गरेको छ। शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा बलाधिकृत रथी प्रभुराम शर्माले तालिमको उद्घाटन हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै शर्माले यस प्रकारको तालिमबाट राष्ट्रिय सुरक्षासम्बन्धी विषयहरुमा विस्तृत ज्ञान प्राप्त हुने बताए।
चैत ३१ गतेसम्म सञ्चालन हुने यस तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायहरुका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरु, विश्व विद्यालय तथा शिक्षण संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी तथा राष्ट्रिय समाचार समितिका गरी जम्मा २७ जना शिक्षार्थीहरुको सहभागिता रहेको छ।
उक्त समारोहमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथी, विभिन्न विषय विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरु समावेश गरी सञ्चालन गरिने यस्तो तालिमबाट विभिन्न सरोकारवालाहरुबीच सुरक्षासम्बन्धी विषयहरुमा साझा समझदारीको विकास हुने, सहकार्यको वातावरण विकास हुने तथा नीति निर्माण कार्यमा टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।