काठमाडाैं- सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अयोग्य भएको दाबी गर्दै उजुरी दर्ता गराएका छन्। त्रिपाठीले सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिमा उजुरी दिएका हुन्।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रहेका सुवेदीलाई न्याय परिषद्ले फागुन २८ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरेको थियो। सुवेदीसँगै उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालको नाम सिफारिस गरिएको थियो।
उक्त सिफारिस अनुसार चैत ४ गते सुनुवाइ समितिले सार्वजनिक सूचना आह्वाना गरेको थियो। समितिले १५ दिनभित्र उनीहरूको नाममा उजुरी दिन भनेको थियो। संसदीय समितिको सूचनाका आधारमा त्रिपाठीले सुवेदीको योग्यता नपुगेकाले अस्वीकृत गर्नुपर्ने दाबी गरेका छन्। संविधानको धारा ११९ ले तोकेको योग्यता नपुगेको जिकीर उजुरीमा गरिएको छ।
सर्वोच्च अदालतको न्यायाधीश हुन उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको रुपमा कम्तिमा पाँच वर्ष काम गरेको हुनुपर्ने उल्लेख भएको तर सुवेदी ३ वर्षदेखि मात्र उच्च अदालतको मुख्य न्यायाधीशको रुपमा कार्यरत रहेको जिकीर उजुरीमा गरिएको छ। संविधानले तोकेको योग्यता मिचेर सुवेदीलाई २०९२ सालपछिको प्रधानन्यायाधीश बनाउनका लागि सिफारिस गरेकाले संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्नुपर्ने उजुरीमा उल्लेख छ।
संविधानको धारा १२९ मा सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त २० जना स्थायी न्यायाधीश हुने व्यवस्था छ। हाल सर्वोच्चमा प्रधानन्यायाधीशबाहेक १८ स्थायी न्यायाधीश रहेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।