काठमाडौं- प्रतिनिधि सभाको पुनःस्थापना भइ अधिवेशन बोलाइए पनि सरकारले विजनेस नदिँदा औपचारिकतामा सीमित बनेको छ। अर्कोतर्फ राष्ट्रिय सभाको बैठक भने बोलाइएको छैन। त्यसैले प्रतिनिधि सभा विजनेसविहीन भएर अन्त्य हुने अवस्थामा पुगेको छ।
संघीय संसद् दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहरू परिपुरक भएर सम्पादन गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधि सभा पुनःस्थापना भएपछि अधिवेशन बोलाइएपनि विजनेस नपाउँदा अहिलेसम्म बसेका बैठक औपचारिकतामै सीमित बन्न पुगेका छन्।
संसद्लाई प्रभावकारी बनाउन राष्ट्रिय सभाको बैठक पनि बोलाउनुपर्ने माग उठिरहेको छ। सरकारले विजनेस छैन भनिरहँदा प्रतिनिधि सभाको बैठकमा सम्पूर्ण प्रक्रिया सकिएका ४ विधेयक राष्ट्रिय सभाको लागि विजनेस हुने देखिन्छ।
प्रतिनिधि सभामा अहिले ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। यसमध्ये ४ वटा विधेयक प्रतिनिधि सभामा पेश भएकाले अगाडि बढाउन सकिने संघीय संसद्का सह-प्रवक्ता दशरथ धमलाले बताए। पेश गर्न तयारी अवस्थाका विधेयकहरूलाई पनि अगाडि बढाउन सकिने सह-प्रवक्ता धमलाले बताए।
प्रतिनिधि सभाको पहिलो बैठकमा पेश गर्नुपर्ने अध्यादेशहरू अहिलेसम्म (एकवटा बाहेक) पेश भएका छैनन्। संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न जारी गरिएको अध्यादेश मात्र सभामा पेश भएको छ।
अर्को अधिवेशन बोलाउन चालु प्रतिनिधि सभाको अधिवेशन अन्त्य भए अध्यादेश निस्क्रिय हुने देखिन्छ। पेश नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छ भन्ने बारे नियमावालीमा स्पष्ट व्यवस्था नभएको सह–प्रवक्ता धमलाले बताए।
सत्तारूढ दलभित्रको अन्तरकलह र विपक्षी दलको निस्क्रियताले संघीय संसद्का दुवै सदन निस्काम बनेका छन्। प्रतिनिधि सभाले विजनेस नपाएर अन्त्य हुने अवस्थामा पुगेको छ भने सरकारले विभिन्न प्रयोजनको लागि जारी गरेको अध्यादेश पनि संसद् बैठकमा पेश नभई निस्क्रिय बन्ने देखिन्छ।
प्रतिनिध सभाको बैठक यही चैत १८ गते बुधबार दिउँसो १ बजेका लागि तय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।