फाइल तस्बिर
काठमाडौं- होलीमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १६ सयभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीका दिन काठमाडौं उपत्यकामा १६ सय ९ जनालाई कारबाही गरी छोडिएको जानकारी दिएको हो।
महाशाखाले होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गर्दा उनीहरूलाई कारबाही गरिएको जानकारी दिएको हो।
उपत्यकाको विभिन्न ९० भन्दा बढी स्थानहरुमा चेक प्वाइन्टहरु राखेर बिहान ६ बजेदेखी नै चेकजाँचको व्यवस्था मिलाएको थियो।
महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले उच्छृङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्रगति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मोटरसाइकलमा तीन जना चढ्ने, हेल्मेट नलगाउनेजस्ता गतिविधिमा संलग्न चालकलाई कारबाही गरिएको बताए।
महाशाखाले बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ जनालाई पनि कारबाही गरेको छ। यस्तै १३ वटा चार पांग्रे र ४६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ।
उपत्यकाका तीन जिल्लामा आज दिनभरिमा २१ वटा सामान्य किसिमका दुर्घटना भएको महाशाखाको भनाइ छ। एयरपोर्टमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्री सितला सिंहको केएमसी र बूढानीलकण्ठमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा घाइते चालकको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।