काठमाडाैं- बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट घर-घरमा वितरण हुन थालेको छ। काठमाण्डौं महाँकालचौरस्थित पुरानो पानी पोखरीबाट आइतबार मेलम्चीको पानी वितरण सुरु गरिएको हो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्तरुपमा खानेपानी वितरणको शुभारम्भ गरे। महाँकाल क्षेत्रबाट चाबहिल, कुटुबहाल, आनन्दनगर क्षेत्रमा पानी पठाइएको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए।
अहिले दैनिक चार करोड लिटर पानी आएको र पानीको मात्रा बढ्दै जाने भएकाले सोही आधारमा समयतालिका निर्धारण गरी उपभोक्ताको घरमा पानी पठाइने प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए। अहिले सकेसम्म दैनिक र नसके एक दिन बिराएर पानी वितरण गर्ने तालिका बनाइएको उनले बताए। कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा जानकारी पाउनेबित्तिकै 'र्यापिड रेस्पोन्स टिम'ले समस्या समाधान गरी पानी पुर्याउने उनको भनाइ छ।
हाल पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरेर पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै पानी थप गर्दै लैजाने योजनाअन्तर्गत पहिलो चरणमा आज चार करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने योजना रहेको पनि शाक्यले बताए।
आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ। दोस्रो चरणमा बालाजुस्थित पानी पोखरीमासमेत गरी ६.५ करोड लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्जस्थित पानी पोखरीहरुमा समेत गरी ८.५ करोड लिटर र चौथो चरणमा कीर्तिपुर, थिमी, भक्तपुरस्थित पोखरीहरुमासमेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीहरुबाट काठमाडौं उपत्यका चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गर्ने योजना केयुकेएलको छ। हाललाई पानीको शुल्क यथावत रहेको पनि केयुकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए।












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।